जालो (लघुकथा)

Dilip Acharyaकादेशको एउटा गाउँमा समयको कुनै अन्तरालमा एउटा जघन्य अपराध घट्यो। गाउँको बिचमै दिउँसै कैयँन व्यक्तिको निर्मम हत्या भएको थियो। धेरैजनाको ज्यान गए पनि र निकैको सङ्ख्यामा घाइतेहरू भए पनि त्यत्रो ठुलो घटना विस्तारै सामसुम हुँदै थियो। कसले, किन र केका लागि निर्दोष व्यक्तिहरूको हत्या गर्‍यो भन्ने कुरा रहस्यको गर्भमै रह्यो।

समयको अन्तरालमा केही साहसी व्यक्तिहरू देखा परे, तिनले त्यो नृशंस काण्डको मुख्य दोषीहरुको विपक्षमा कारबाही गर्ने प्रण लिए। केही घाइतेहरू पनि तत्कालको घटनाको बारेमा बोल्न र प्रमाण दिन राजी भए।

नियम अनुसार उनिहरूले गाउँको मुखियालाई घटनाको वृतान्त बताए, घटनामा मुखिया भन्दा पनि माथिका ओहदावालाका नाम आएपछि मुखिया घटनाको सुनुवाई गर्नै हच्के। मुखियाबाट काम नभएपछि गाउँलेहरु सहर गए र बडा हाकिमलाई भेटे। बडाहाकिमले तुरुन्तै घटनाको सुरुदेखि जाँच गर्ने बचन दिए।

बडाहाकिमको जाँच सुरु भएको केहि दिनमै उनी भन्दापनि बडे बडे व्यक्तित्वका नाम आउन थाले र विस्तारै जाँच पडताल सुस्त हुँदै बन्द नै भयो ।

जाँचपडताल बन्द भयो, तर त्यस बारेमा विभिन्न चर्चा परिचर्चा र हल्ला व्याप्त पनि भयो । स्थितिको नाजुकता देखेर फेरि राजधानीबाटै यसको छानबिनको आदेश आयो। छानबिन बढ्यो र त्यस घटनाको सम्बन्धमा हरेक प्रमाण, हरेक तथ्य र विवरणहरू संकलन गर्न थालियो। घटनास्थलको सुक्ष्म निरीक्षण गर्दा झनै उच्च ओहदाका ठालुहरू संलग्न भएका प्रमाण भेटिन थाले। घटनास्थलमै कुनै मुखियाको जुत्ता भेटियो, कुनै थकालीकको चक्कु भेटियो, कुनै बडा हाकीमका औंठी त कुनै जमिन्दारका लठ्ठी भेटियो।

खोज्दै-हेर्दै जाँदा सो एकादेशको राज्य व्यवस्था नै बेइमान देखियो, कतै क्षेत्रपालकै योजना त कतै तालुकदारकै संलग्नता भेटियो। पर्दा अगाडि भारदार त पर्दा पछाडि पुग्दा राजाकै तरबारका दापमा पनि केही छिटा मानव खुनका खाटा भेटियो ।

केही दिन गाउँ-सहरमा खासखुस-हल्ला र अटकलबाझिको बजार तात्यो, अनि विस्तारै सेलाउँदै गयो। अचेल त्यो देश मुर्दाबस्ती जस्तै शान्त छ। धेरैले त्यहाँ के भएको थियो भन्ने समेत बिर्सिसके र घट्ना घटाउने जत्था अझ त्यो भन्दा ठुलो योजनाको जालो बुन्दैछन् ।

दुई सुत्रकथा

१. ‘कमर्सियल’ बाबा

दिलीप आचार्यसहरमा एक जना प्रसिद्ध सन्त आएका थिए। “परमात्मा प्राप्ति नै जीवनको लक्ष हुनुपर्छ र पैसा भनेको केही पनि हैन” भन्ने नै उनको एक मात्र जीवन दर्शन थियो।

उनको आगमन अगाडि नै देशका नाम चलेका पत्रिकाहरूमा मुख्य पातामै ठुला-ठूला महँगा विज्ञापन छापियो। आयोजकले सहरकै एक महँगो होटेलमा उनको प्रवचनको आयोजना गरे। उनले प्रवचन दिने स्थलमा पानी जस्तै गरेर पैसा खर्च गरियो र स्टेजलाई फ्लिमी शैलीमा सिँगारियो। “पैसा केही पनि हैन” भन्ने विषयमा उनले दिने प्रवचन सुन्न हजार हजारको टिकट राखियो ।

धान्न नसकिने भिडको बिचमा उनले मानिसले आफ्नो अमूल्य जिन्दगी पैसाको पछि लागेर खेर फाल्नु हुँदैन र परमात्मा प्राप्ति बाहेक जीवनमा अर्को लक्ष बनाउन नहुने बारेमा धुवाँदार र गहकिलो प्रवचन दिए।

प्रवचनपछि पहिला तय भए बमोजिमको मोटो रकम पारिश्रमिक नपाएकोमा साधु अत्यन्त रुष्ट भए र प्रवचन स्थलमै साधु र आयोजकबिच तथानाम भएको दृश्य साँझको टिभी समाचारमा देखाइयो ।

चटकी नेता

२. चटकी नेता

युवाहरूको जोस, वातावरणप्रतिको चेत र पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउने विषयलाई सम्बोधन गर्न देशका प्रसिद्ध नेता ‘स्वास्थ्य, साइकल र स्वावलम्बन’ भन्ने कार्यशालामा सरिक भए।

पेट्रोलियम पदार्थकोलागि विदेशीने रकमको बचत गर्न, वातावरण स्वच्छ राख्न र तन्दुरुस्त रहनको लागि साइकल चढ्नु एकदम आवश्यक भएकोले सबैले साइकल चढ्ने बानी बसाल्नु पर्ने विषयमा उनले जोडदार कार्यपत्र प्रस्तुत गरे। युवाहरू उनको विचार र आह्वानप्रति ओतप्रोत भए, दर्शक दिर्घाबाट करतल ध्वनिका साथ तिनको प्रशंसा र स्वागत गरियो। आयोजकले कार्यक्रम अत्यन्त सफल रहेको घोषणा गरे र नेता स्वयं आफ्नो महँगो चिल्लो कारमा चढेर निवासतर्फ लागे ।

पहिचान ! (लघुकथा)

दिलीप आचार्य

उनको वर्षौको मेहनत सफल भए थियो । अपराध र आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने यन्त्रको विकासमा उनले आफ्नो दशकौँको समय लगाएका थिए ।

लाई डिटेक्टरले पहिचान गर्न नसक्ने झूट र अपराधीलाई सजिलै पहिचान गर्ने उनको यो यन्त्रले विश्वकै अपराध नियन्त्रण र सामाजिक शान्तिमा ठूलो योगदान दिने निश्चित थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको अपराध र झूट पहिचान गर्ने पुराना यन्त्र भन्दा गुणात्मक रूपमा भिन्न यो यन्त्रको प्रयोग गर्दा, भौतिक रूपमै कुनै संदिग्ध व्यक्तिलाई छुवाउनु, जोड्नु वा देखाउनु समेत नपर्ने थियो ।

प्राचीन अध्यात्ममा हरेक मानिसमा आफ्नो चरित्रको आधारमा एउटा आभा मण्डल हुने र त्यसैले सो व्यक्तिको चरित्र अभिव्यक्त गर्ने मान्यता छ । उनले सोही आभा मण्डलको तरङ्गलाई मापन गर्ने यन्त्रको विकास गरेका थिए । यन्त्र चालु हुने बित्तिकै त्यसले त्यसको वृत्तमा आउने व्यक्तिको आभा-मण्डलको मापन गर्थ्यो र तुरुन्तै त्यसको विश्लेषण गरी त्यसको नतिजालाई पूर्व संचित ध्वनिको प्रयोग द्वारा ‘चोर’, ‘साधु’, ‘ठग’, ‘सज्जन’, ‘सामान्य’,‘फटाहा’ आदि भन्ने परिणाम दिन्थ्यो।

उनले कैदी, सन्त, जँड्याहा, जोगी सबैमा यसको सफल प्रयोग गरी सकेका थिए र आजभने देशकै ३-४ जना अग्रज नेताहरूद्वारा रिबन कटाएर यसलाई सार्वजनिक गर्दै थिए।

देशका प्रकाण्ड नेताहरू आए र ड्यासबाट यस यन्त्रले विश्वमै अपराध निर्मूल गर्न ठूलो योगदान दिने बताए । यन्त्रको स्विच खोलियो र नेताहरू सो यन्त्र राखिएको ठाउँमा पुगेर हातमा कैँची लिएर रिबन काट्न तयार भए । नेताहरू यन्त्रको वृत्तमा पुग्नासाथ अचानक स्वचालित यन्त्रबाट “चोर !”, “फटाहा!”, “ठग!”, “जाली!” …भन्ने ध्वनी परिणाम मात्र आईरह्यो ।

दर्शकहरू असमझ देखिए भने यन्त्रका आविष्कारक अलि असहज …। तर के हो कुन्नि, सबै नेताहरू रिबन काटि सकेर आ-आफ्नो कुर्सीमा फर्केपछि भने यन्त्रबाट आवाज आउन आफैँ बन्द भयो ।

द्वैत चरित्र (लघुकथा)

Dual Characterहरमा अचानक एकजना दाताको निकै चर्चा-परिचर्चा हुन थालेको थियो । ती दाता दिल अनि मुठ्ठी दुबै खोलेर सामाजिक कार्यमा सहयोग गर्न तत्पर देखिन्थे ।

केही समय अगाडि तीनले एउटा क्यान्सर रोग विरुद्ध जागरूकता जगाउने र सो रोगको रोकथाममा क्रियाशिल एउटा संस्थालाई ठूलै धनराशि सहयोग गरेका थिए । त्यसको केही समय पश्चात् तीनले एउटा मुटु रोग सम्बन्धी अस्पताललाई पनि दिल खोलेर आर्थिक सहयोग गरे। धुमपान र मद्यपानका कारण बाबु आमाको अकाल मृत्युका कारण टुहुरा भएका बालबालिका प्रतिपनि तिनको विशेष दृष्टि र कारुणिक भावना देखिन्थ्यो ।

शहरवासी र विशेषगरी समाचार माध्यममा तिनको नाम खुबै छाउन थाले । तिनि छोटो समयमै दानवीर दाता, निःस्वार्थ समाज सेवी र सामाजिक आस्थाका प्रतीक बन्न थालेका थिए । राजनीति वा अन्य क्षेत्रमा कतै नदेखिने र कुनै सरकारी वा अर्ध सरकारी संस्था आदिसँग पनि सम्बद्ध नभएकाले समाज सेवी र दाता बाहकेका तीनको विस्तृत परिचय र निजी पहिचान भने खासै खुलेको थिएन ।

उनी सधैँजसो, रोगी, असहाय र दु:खीको सेवामा हुने कार्यक्रमहरूमा मात्रै देखिन्थे । तर उनले गर्ने आर्थिक सहयोग, विरामीलाई वितरण गर्ने औषधिमुलो र टुहुरालाई दिने नगदी र जिन्सी सहायता निकै देखिन थालेपछि सहयोग, चन्दा वा दान नै भए पनि विस्तारै तिनले गर्ने खर्चको श्रोतको खोजी हुन थाल्यो ।

विस्तारै उनका अर्थोपार्जनका स्रोतहरू पनि सबै सामु खुला भए । वास्तवमा उनका २-३ मदिरा उद्योग र एउटा ठुलो चुरोट कारखाना रहेछन् । अनि विदेशबाट आयात हुने प्राय: सबै खैनी, सूर्ती लगायतका बढी चल्ने सबै विदेशी रक्सी-चुरोटका उनि देश भरका लागि आधिकारिक वितरक पनि रहेछन् ।

… नेपाल आयो (लघुकथा)

Boeing and Coffin

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।

विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।

त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।

पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।

करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।

अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।

सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।

अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।

कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।

नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।

समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।

धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।

सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।